लुकाएको इतिहास – डिराज कोईराला
सेता फिरङ्गी र उनीहरुका उत्तराधिकारी बनेका काला अंग्रेजहरू मध्ये गोर्खा शब्दका शत्रुहरूले आआफ्ना हैसियत अनुसारका कुटिल चाल चलेर गौरवशाली इतिहास भएको गोर्खा जातिको गोर्खा राष्ट्र तथा वीर गोर्खा जाति समेतको तेजोबध गर्नकालागि नजानिदो तरिकाले अनेक षडयन्त्र, जालझेल र प्रपञ्च रचेर गोर्खाको सट्टा “ पहिले नेपाल त्यसपछि नेपाली” बनाउन लगाएको प्रमाणित इतिहास नभएको होइन, केवल प्रचार-प्रशारका भरमा सत्य इतिहासलाई पाखा लगाइएको मात्र हो । “सत्य इतिहास लुकाएका भरमा किन लुक्थ्यो” ।
उनै षडयन्त्रकारीहरूकै शाखासन्तानहरूले दार्जीलिङमा गोर्खाल्याण्ड आन्दोलन शुरु भएपछि ‘अब हाम्रा पुर्खाबाट नेपाली नामाकरण गर्न लगाइएका गोर्खाहरूले आफ्नो असली पहिचानकासाथ जाग्ने भए, यदि गोर्खाहरु जागे भने भारत र बृटीश सरकारसंग भएको सन् १९५० को मैत्री तथा शान्ति सन्धिको धारा ८ ले खारेज गरेको सन् १८१५ को सुगौली सन्धिको धारा ३ र ५ मा उल्लेखित गोर्खाहरुको भूभाग फिर्ता लिनकालागि लडाकु जातिका गोर्खाहरुले प्रमाणका आधारमा जे पनि गर्न सक्छन’ भन्ने शङकाले अत्तालिएका गोर्खा शब्दका शत्रुहरूले प्रत्यक्षरुपमा आफै सरिक भए उल्टो प्रभाव पर्ने ठान्दै, साम, दान, दण्ड, भेदको नीति अवलम्बन गरी “फलामले फलाम काट्छ” भन्ने शाश्वत भनाई अनुसार हाम्रै मान्छे प्रयोग गरी सुगौली सन्धि भनेको सन् १८१६ को हो भन्ने झुट्टा कुरा भन्न लगाएकै रहेछ भन्ने देखिदैन र ? ।
यसो गर्दा उनीहरूका पुर्खाका भनाई र गराईलाई अकाट्य, खम्वीर अर्थात यथावत राख्ने र जसरी भए पनि गोर्खा शब्द स्वीकार गर्न नदिने तथा नेपाल र नेपालीलाई सधै निरिह, आशामुखी र सबै कुरामा परनिर्भर बनाएरै राख्नकालागि नेपाल शब्दलाई अझ “ग्रेटर” थपेर “ग्रेटर नेपाल” पो हो त भन्दै सन् १४७४-७६ भन्दा पछि इतिहासमा नभएको नेपाललाई स्कन्ध पुराणमा उल्लेख भएको नेपालको कथासंग जोडेर प्रचार-प्रशार गर्न लगाएकै रहेछ भन्ने कुरा अन्तर आत्माबाट नै बुझ्नलाई अब उसो आइतबार बार्नु किन ? ।
यस पछि भने ग्रेटर नेपाल शब्द सुनेकै भरमा दङ्ग पर्दै, ‘ठीक कुरा यही मात्रै हो’ भन्दै आएकाहरुले, गोर्खालाई नेपाल बनाउन लगाउने विदेशी शक्तिको कुनै हात छैन, हाम्रो मौलिक भनाई हो भन्छन् भने शाके १४८१ (सन् १५५९) भाद्र कृष्ण अष्टमी बुधबार रोहिणी नक्षत्रका दिन द्रव्य शाहद्वारा स्थापित यो गोर्खा राज्यको (देश) हालसम्म पनि अबछिन्न निरन्तरतामा नै रहेको गोर्खाहरुको आफ्नो देशको, आफ्नो जातिको र आफ्ना देशको सम्पर्क भाषा, समेतको चलनचल्तिको असली नाम “गोर्खा” स्वीकार गर्न केले छेकेको हो ?
काम लाउने र अह्राउने विदेशी रिसाउलान्, दु:ख देलान्, दानापानी हरण गर्लान वा मार्लान भन्ने डर छैन वा आजसम्म नेपाल नेपाली भनेको लेखेको कुरा कसरी उल्टाउनु भन्दै लजाउनेहरु समेतले, राजा श्री ५ गिर्वाण, प्रधानमन्त्री श्री ३ जङ्गबहादुर, श्री ३ चन्द्र समशेर र श्री ३ मोहन समशेरहरूले सही गरेका कागजमा १८१५ को सुगौली सन्धि भन्ने उल्लेख भएको प्रमाणलाई ढाक छोप गर्दै सन् १८१६ को सुगौली सन्धि हो भन्दै, लेख्दै, ढाँट्दै, छल्दै, विदेशीहरूले बिस १९८६ मा राखिदिएको नेपाल नामलाई नै सर्वश्व ठानी स्वीकार गर्दै विदेशीहरूकै भनाईलाई अकाट्य मान्दै विदेशीका इशारामा भ्रम छरेकै भरमा ग्रेटर नेपाल नामले गरेका नाना भाँतिका उटपट्याङ् काम कार्वाही चै “नानीभन्दा आची ठूलो” भने जस्तै देखिएन र ? होइन भने यस्ता विनाप्रमाणका “सिङ नपुच्छरका” काम गरेर देखाउनु पर्ने चै कस्कालागि हो ? ।
जय गोरखनाथ जय गोर्खा ।
(गोर्खा राज्य स्थापना गर्ने राजा द्रव्य शाहदेखि हालसम्म सोही राज्यलाई अबछिन्न निरन्तरता दिदै आएका गोर्खा राजबंशका राजाहरुको फोटो साभार:- फेसबुक)