25.5 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
Homeराष्ट्रियसडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या

सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा विद्युत्का खम्बा हटाउन ढिला हुँदा टेलिकमको सेवा विस्तारमा समस्या भएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका गण्डकी प्रदेश निर्देशनालयका वरिष्ठ इञ्जीनियर रामचन्द्र पोखरेलले सडकका कारण मुख्य राजमार्ग क्षेत्रमा टेलिकमको नयाँ सेवा विस्तारमा समस्या भएको बताउनुभयो । “हामीले बिजुलीका खम्बामा फाइबर तार टाँगेर ग्राहकलाई एउटै तारबाट इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा दिँदै आएका छौँ”, पोखरेलले भन्नुभयो, “तर, सडक विस्तार भइरहेको गैँडाकोट क्षेत्रमा बिजुलीका खम्बा सार्न ढिलाइ भएकाले मुख्य बजार क्षेत्रमा हामीले हाम्रो सेवा दिन पाएका छैनौँ ।”

अहिले भइरहेका खम्बामा टेलिकमको तार टाँगेको अवस्थामा फेरि सार्ने बेलामा कठिन हुने भएकाले सेवा विस्तारमा समस्या आइरहेको पोखरेलको भनाइ छ । अहिले नेपाल टेलिकमको ‘फाइबर टु होम’ सेवा प्रदेशका ११ वटै जिल्लामा पुगेको पोखरेलले बताउनुभयो । “हामीले केही दिन अगाडि मात्रै मनाङमा टेलिकमको फाइबर पु¥याएका छौँ”, पोखरेलले भन्नुभयो, “मनाङमा फाइबर पुगेसँगै प्रदेशका सबै जिल्लाका सेवाग्राहीले एउटै तारबाट इन्टरनेट, टेलिफोन र टेलिभिजनका सेवा लिन सक्ने भएका छन् ।”

टेलिकमले पहिले वितरण गर्दै आएको एडिएसल सेवा विस्थापित गर्दै नयाँ सेवा प्रदान गर्नसमेत फाइबरको प्रयोग गर्न पोखरेलले आग्रह गर्नुभयो । “एडिएसएलमा तामाको तारबाट इन्टरनेट सेवा दिइन्थ्यो, जसको स्पिड एकदमै थोरै हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले फाइबरबाट दिइने सेवा गुणस्तरीय, उच्च गतिको हुने भएकाले सेवाग्राहीबाट गुनासोसमेत आएको छैन ।”

टेलिकमको फाइबर टु होम सेवालाई प्रदेशका सबै जिल्लाका साथै नवलपुर जिल्लाभर विस्तार गर्न क्षमता बढाउने काम भइरहेको वरिष्ठ इञ्जीनियर पोखरेलले बताउनुभयो । जिल्ला सदरमुकाम कावासोतीमा लेखा शाखाका रूपमा टेलिकमले सबै सेवा प्रदान गर्ने गरी नयाँ कार्यालय खोलेकाले पोखरेलले अब यहाँका नागरिकलाई गुणस्तरीय इन्टरनेटसँगै टेलिफोन र मोबाइल फोन सेवा पु¥याइने बताउनुभयो ।

जिल्लामा विसं २०७६ बाट फाइबर बिच्छ्याउन सुरु गरिएको थियो । गैँडाकोट नगरपालिकामा भने विसं २०७७ जेठबाट फाइबर सेवा सुरु गरिएकामा हाल वडा नं १, २, ५, ६ र ८ मा मात्रै सेवा पु¥याउन सकिएको टेलिकम गैँडाकोटका कार्यालय प्रमुख अर्जुनकुमार लामिछानेले बताउनुभयो । उहाँले नगरपालिकाको मुख्य राजमार्गमा पर्ने अन्य वडामा सेवा विस्तारमा कठिन भएकाले सडक विस्तार आयोजना र विद्युत् प्राधिकरणसँग कुरा गरिरहेको जानकारी दिनुभयो ।

टेलिकमको गैँडाकोट शाखा कार्यालयले आफ्नो क्षमता विस्तार गर्दै तीन हजार ग्राहकलाई फाइबर सेवा प्रदान गर्नसक्ने बनाएको भए पनि हालसम्म जम्मा ३२० जनाले फाइबर सेवा जडान गरेका लामिछानेले जानकारी दिनुभयो । हालसम्म गैँडाकोटमा १० जनाले मात्रै नेपाल टेलिकमको आइटिभी जडान गरेका भन्दै लामिछानेले पुरानो एडिएसएल सेवा विस्थापित गर्न आग्रह गर्नुभयो । चाँडै नै आफूहरुले गैँडाकोट क्षेत्रका १० हजार ग्राहकलाई सेवा दिनसक्ने गरी फाइबरको क्षमता बढाउने तयारी गरिरहेको उहाँको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments