सभामुख सापकोटा विरुद्धको हत्या अभियोगको मुद्दा ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको छ । अन्तिम सुनुवाइका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा पेसी चढेको थियो ।
आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको तर सुनुवाइ नै सुरु नगरी ‘हेर्न नमिल्ने’ आदेश भएको छ। काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या अभियोगमा सभामुख सापकोटाविरुद्ध परेको मुद्दा सर्वोच्चमा लामो समयदेखि विचाराधीन छ । पटकपटक पेसी चढे पनि सुनुवाइ सर्दै आएको छ ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सभामुख सापकोटामाथि लागेको छ ।
१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा पर्नुभएको थियो । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो।
प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गर्नुभएको थियो । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च जानुभएको थियो र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हाल्नुभएको थियो ।