एमाले विधान महाधिवेशन: कार्यक्रम स्थलमा पुगे अध्यक्ष ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगेका छन् । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट आएका प्रतिनिधिहरु ललितपुरको गोदावरी पुगेका छन् । कार्यक्रमस्थल सनराइज हलमा पुगेका प्रतिनिधिहरु हल प्रवेश गर्नेक्रम सुरू भएको छ । हल प्रवेशमा सुरक्षा जाँच, मास्क, सेनिटाइरको प्रयोग र थर्मन गनबाट शरीरको तापमान लिने व्यवस्था गरिएको छ ।
महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघरसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।
सभाहल बाहिर बस्ने अस्थायी आश्रयस्थल स्वागद्वार निर्माण गरिएको छ भने महाधिवेशनको प्रवेशद्वार सातदोबाटो सडकदेखि नै झण्डा राखिएका छन् । प्रवेशमार्गमा रहेको ठैव, बाँडेगाँउ, टौखेललगायतका ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।
पार्टीको नीति, विचार र संरचनाबारे टुंगो लगाउन एमालेको विधान महाधिवेशन हुन लागेको हो। पार्टीको विचार, सिद्धान्त, संरचना, कार्यनीति एवं रणनीतिबारे देशभरका प्रतिनिधिले दुई दिनसम्म छलफल गरी निचोड निकाल्ने छन्।