राजनीतिक दलहरुद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता
आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउनका लागि छलफल गरेको थियो ।
छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । सो आचारसंहिता आयोगले राजनीतिक दलहरुबाट प्राप्त सल्लाह, सुझावलाईसमेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरुलाई हस्ताक्षर गराइएको उनले जानकारी दिए ।
बैठकको प्रारम्भमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरुले छलफलबिनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरु असन्तुष्टिकैबिच हस्ताक्षर गर्न तयार भएका थिए ।
छलफल पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्णरुपमा प्रतिवद्ध रहेको बताए । आचारसंहिता अक्षरंश पालना गरिने उनको भनाइ छ ।
नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न तयार रहेको बताए । पूर्णरुपमा आचारसंहिता पालना गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गरिएको उनले बताए ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरुले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरुले गुनासो राखेको बताए । निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचार प्रसार गर्न आचारसंहिताले नदिने भएपनि आचारसंहिता विपरित दलहरुले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उनले जानकारी दिए । उनले दलहरुकाबीचमा चुनावी गठबन्धन हुनु सिद्धान्तविपरित र मतदाताको खरिदविक्री जस्तो भएको
टिप्पणी पनि गरे।
नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरुलाई हेपाहा प्रवृत्ति देखाएको बताए। आयोगले गर्ने छलफलहरुमा साना दलहरुलाई सहभागि नगराउने गरेको उनको गुनासो थियो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरुले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ।
राजनीति