आजदेखि सोह्र श्राद्ध सकिँदै
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आजबाट सकिँदैछ ।
आज दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदैछ ।
भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।
सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ । जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ ।
पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ ।
औंसी तिथि श्राद्ध आज दिउँसो १:०१ देखि ४:२४ बजेसम्ममा गरिसक्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए। यस वर्ष असोज ५ गतेदेखि सुरु भएको पितृ पक्ष आज असोज २० गते विधिवतरुपमा समापन गरिँदै छ ।
सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले औंसी तिथिमा श्राद्ध गर्ने धार्मिक नियम रहेको छ ।
श्राद्ध कर्मलाई आफ्नै घरमा गर्नु उत्तम मानिन्छ । यदि घरमा श्राद्ध तर्पणादि कार्य सम्भव नभए नजिकैको तीर्थस्थल वा मन्दिरमा गर्नु पनि उत्तिकै उपयुक्त र फलदायी नै मानिन्छ ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृऋणबाट मुक्ति पाइने विश्वास रहेको छ ।
सोह्र श्राद्ध सकिएसँगै भोलिबाट बडादशैको नौरथा सुरु हुँदैछ । नौरथासँगै चाडपर्वको चहलपहल पनि शुरु हुँदैछ ।
नवरात्रको पहिलो दिन भोलि घटस्थापना हो ।