जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा बिभिन्न फार्मेषी तथा औषधी पसलहरुको अनुगमन
बर्दियाया । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जनतालाई अत्यावश्यक औषधीको कमी हुन नदिने बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी सुनारले कोभिड-१९को संक्रमण बढेपछि जनतालाई आवश्यक पर्ने औषधीको कमी नहोस् भनेर बर्दियाको गुलरिया नगरपालिकाका बिभिन्न फार्मेषी तथा औषधी पसलहरुको अनुगमन गरिएको बताउनुभएको छ ।
गुलरिया नगरपालिकाका मेडिकल पसलहरुको अनुगमनमा बिरामीलाई आवश्यक पर्ने औषधी सिटामोलको कमी नरहेको पाइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुनारले भन्नुभयो, “अहिलेलाई हामीलाई औषधीको शर्टेज नभएको पाइयो, केही समयकोलागी औषधी मौजदातमा छन तसर्थ अहिल्यै समस्या छैन ।”
जिल्ला प्रशासन कार्यालय बर्दियाले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ ४ गते १७ बुँदे आदेश जारी गरिसकेको छ । एकै ठाउँमा २५ भन्दा बढी सहभागी नहुने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गरेर दैनिक क्रियाकलाप गर्नेलगायतका प्रशासनको १७ बुँदे आदेश जारी गरेको छ ।
बर्दियावासीलाई अत्यावश्यक औषधीको कमी नहोस् भनेर प्रशासनले सकृयाता देखाएको छ । देशका बिभिन्न ठाउँमा सिटामोल लगायत अत्यावश्यक औषधी अभाव भएको समाचार आइरहँदा जिल्ला प्रशासन बर्दियाले यहाँको मुख्य बजारमा अनुगम गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुनारले भन्नुभयो, “जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडीएका बिषयमा हामी गम्भिर छौँ, आगामी दिनमा पनि अनुगमन हुन्छ । मुख्य कुरा जनताको चासो गुनासोलाई सम्बोधन गर्दै जिल्लावासीको स्वास्थ्यसंग सम्बन्धित विष्यमा हामी गम्भिर छौँ र सोही अनुसार अनुगमन भएको हो र अनुगमनमा औषधीको कमी पाइएन ।”
सोमबार, माघ १०, २०७८ गते जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्मा, जनस्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरी, घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका अधिकृत मोहन घर्ति र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी नायव निरिक्षक(सइ) नरेन्द्र बहादुर शाही समेतको सयुक्त टोलीले गुलरिया नगरपालिका वडा नं.६ मा रहेका मेडिकल पसलहरुको अनुगमन गरेको थियो ।