पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम गरी देशभर मनाइँदै
काठमाडौं । राष्ट्रिय एकता दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती आज (शुक्रबार) विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।
गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट वि.स. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो । नेपाल ५२ राज्यमा विभाजित भएको समय वि.स. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । राजा भएपछि उहाँले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्नुभएको थियो। त्यसपश्चातका उहाँका उत्तराधिकारीहरुले पश्चिममा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका हुन् ।
पृथ्वीनारायण शाहले वि.स. १८०१ मा नुवाकोट र वि.स. १८२६ सालमा काठमाडौं उपत्यकामा विजय पाप्त गर्नुभएको थियो । त्यसपछि उहाँले पूर्वको चौदण्डी रविजयपुर लगायतका राज्यहरु पनि जित्न सफल हुनुभएको थियोो । उहाँको ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा सान्दर्भिक रहेका छन् भने भौगोलिक अवस्थालाई बुझाउन उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा समेत दिनुभएको थियो।
उहाँले नेपाल एकीकरण गर्ने ऐतिहासिक सफलता पाउनुभएको थियो । तर आलोचकहरुले भने उहाँलाई एकल जातिवादको पक्षपोषक भएको आरोप समेत लगाउने गरेका छन् । उहाँको निधन ५२ वर्षको उमेरमा वि.स. १८३१ मा भएको थियो ।विगत केही वर्ष यता विवाद हुँदै आएता पनि गत वर्षदेखि पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रमको आयोजना गरी शुक्रबार पृथ्वी जयन्ती मनाइरहेका छन् ।