पञ्चेश्वर परियोजना ब्रेक थ्रुको चरणमा : मन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पञ्चेश्वर परियोजना ब्रेक थ्रुको चरणमा पुगेको दावी गर्नुभएको छ ।
सोही परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने उहाँले दावी गर्नुभएको हो । डडेलधुरामा शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा मन्त्री साउदले पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमवासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक रहेको बताउनुभएको छ ।
पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्याउने मन्त्री साउदले विश्वास व्यक्त गर्ननुभएको हो । उहाँले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने समेत बताउनुभयो। नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ता बाहेकका सीमामा धेरै सहमति भइसकेको पनि उहाँले बताउनुभएको हो ।
मन्त्री साउदले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताउनुभयो । उहाँले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनको बारेम पूर्णरूपमा सजग रहेको समेत बताउनु भएको छ । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको उहाँको भनाइ थियो ।
साथै मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दावी गर्नुभएको छ । उहाँले रुस–रुक्रेनमा पुगेका युवाका १ सय ३३ परिवारले जोखिममा परेकालाई फिर्ता गर्न मन्त्रालयमा आग्रह गरेको जानकारी समेत गराउनुभयो ।
उनीहरूलाई स्वदेश फिर्ताको फिर्ता गर्नका लागि मिलाउन पहल भइरहेको समेत मन्त्री साउदको भनाइ थियो ।