वर्तमान सरकार ३ संकट र चुनौतीबाट गुज्रिरहेको छ: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आइतबार वर्तमान सरकार तीन वटा संकट र चुनौतीबाट गुज्रिरहेको बताउनुभएको छ ।
दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। महासचिव पोखरेलले पहिलो राजनैतिक अस्थिरता र अराजकताको चुनौती चरम उत्कर्षमा पुगेको छ । राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप अस्वाभाविक रुपमा बढ्नु अर्को चुनौती रहेको उहाँको तर्क छ ।
विश्व राजनीतिको भूराजनीतिक द्वन्द्वको क्रिडास्थलका रुपमा नेपाललाई प्रयोग गर्ने जोखिम बढेको उहाँको भनाइ थियो । विकास र निर्माणका हिसाबले अहिलेको सरकार इतिहासमै अयोग्य रहेको समेत उहाँले बताउनुभयो । उहाँले नेपाली नागरिकले विद्युत बाल्न नपाएको अवस्थामा अहिलेको सरकारले भारतलाई यति विद्युत बेच्ने भएको भन्ने कुरा गर्नु उचित नभएको बताउनुभयो ।
महासचिव पोखरेलले अहिलेको परिवर्तनप्रति नै अनास्था तथा अविश्वास सिर्जना गर्ने हिसाबले अनेक प्रकारका अराजकतावादी विभाजनकारी प्रवृत्तिहरू बढिरहेको समेत उल्लेख गर्नुभयो । हालको सत्ता अयोग्य र अकर्मण्य रहेको कुरा कोशी प्रदेशको नामाकरणमा देखिएको उहाँको भनाइ छ ।
संविधानले प्रदेशसभाको नामकरण अधिकार प्रदेशसभालाई दिएको र प्रदेश- १ को प्रदेश सभाले अत्याधिक बहुमतको साथ प्रदेशको नामाकरण गरेर कोशी प्रदेश राखेको भए पनि केही सीमित व्यक्तिहरूको असहमतिलाई भड्काउनका लागि सत्ता गठबन्धन आफैंले गरेको निर्णयबाट पछाडि हट्नु रहेको महासचिव पोखरेलले बताउनुभयो ।