उपत्यकावासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान काठमाडौं उपत्यकावासीलाई मेलम्चीको खानेपानी बाह्रै महिना नै उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान सिंहदरबारभित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गर्नुभएको हो । सिंहदरबार परिसरमा सोमबार मेलम्चीको खानेपानी पुनः वितरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मेलम्ची आयोजना अन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना नै सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
प्रधानमन्त्री दाहालले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रतिवद्ध रहेको दावी समेत गर्नुभएको छ। उहाँले मेलम्चीको पानी पथान्तरण कार्यलाई दिगो बनाउने कार्य छिट्टै सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्य समेत निश्चित कार्ययोजना बनाएर अघि बढाइने प्रतिवद्धता जनाउनुभयो ।
सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणाली समेत विकास गरिने उहाँले बताउनुभयो । केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिणामको खानेपानी सेवा चौबिसै घण्टा उपभोक्ता सदस्यहरुको धारामा उपलब्ध गराउने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई उहाँँले निर्देशन दिनुभएको हो ।
मेलम्चीको पानी उपत्यकामा दिगो रुपमा सञ्चालन गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत प्रधानमन्त्री दाहालले बताउनुभयो । काठमाडौंवासीका घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिएको छ । मेलम्चीको पानी चौथो पटक उपत्यकावासीलाई वितरण गरिएको हो ।