राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन १८ र १ सिटमा एमाले विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ ।
त्यस्तै, नेकपा एमाले भने एक सिटमा विजयी भएको हो । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा ७ प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालले बाजी मारेको छ ।
राष्ट्रिय सभा सदस्य पदका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेकी रुक्मणी कोईराला, मधेस प्रदेशमा गठबन्धबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरी, बागमती प्रदेशमा गठबन्धनबाट कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् ।
त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ र माओवादी केन्द्रका मनरुपा शर्मा विजयी भएका हुन्। लुम्बिनी प्रदेशबाट गठबन्धनकै कांग्रेसका विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कु सुवेदी विजयी भएका हुन्।
कर्णाली प्रदेशमा गठबन्धनबाट कांग्रेसका कृष्णबहादुर रोकाया, एकीकृत समावादीका सावित्री मल्ल र माओवादी केन्द्रका विष्णुबहादुर विश्वकर्मा विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट, माओवादी केन्द्रका रेणु चन्द विजयी भएका हुन्।
राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै माओवादी केन्द्र ५ सिट र एकीकृत समाजवादीले दुई सिटमा विजयी भएको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिटमा विजयी भएको छ भने एमालेले १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।