ऐतिहासिक दस्तावेज नष्ट गर्नेलाई राष्ट्रद्रोहको मुद्दा चलाउन सांसदको जोड
काठमाडौं । सांसदहरुले राज्यका महत्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्तावेजहरु नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा शुक्रबार बोल्दै सांसदहरुले राज्यको ऐतिहासिक दस्तावेज तथा अभिलेखहरुलाई नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाउनुपर्ने धारणा राखेका हुन् । सांसदहरुले यस्तो काम गर्नेलाई कडा भन्दा कडा सजाय तथा जरिवाना हुनुपर्ने बताएका छन् । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो । सोही विधेयकमा संशोधन राख्ने केही सांसदहरुलाई बैठकमा बोलाइएको पनि थियो ।
सांसदहरुले आफ्नो संशोधन राख्दै यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्दै नेकपाएकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राज्यका महत्वपूर्ण अभिलेख नष्ट गर्नेलाई ३-५ वर्षको सजायले नपुग्ने बताउनुभयो । विधेयकमा सजायको व्यवस्था कम भएको उल्लेख गर्दै कम सजायको व्यवस्था गरेर विधेयक ल्याउनु आपत्तिजनक भएको उहाँले बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ऐतिहासिक दस्तावेज नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको कारबाही हुनुपर्ने बताउनुभयो । २० वर्ष कैद र धेरै जरिवाना हुनुपर्ने उहाँले बताउनुभएको हो । अभिलेखहरुलाई विद्युतीय अभिलेखमा रुपान्तरण गर्नुपर्ने पनि उहाँको तर्क छ । अभिलेखहरुलाई विभिन्न प्रकारका विपत्तिहरुबाट समेत बचाउने गरी सुरक्षित रुपमा राख्नुपर्ने उहाँको भनाइ थियो।
त्यस्तै, बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय महत्वका कागजातहरु नेपाल बाहिर लैजान दिन नहुने बताउनुभएको छ । त्यस्ता कागजात नेपाल बाहिर लानै परे अपरिहार्य कारण खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल बाहिर कुनै कागजात पठाउनुपर्दा प्रतिलिपी मात्र पठाउनुपर्ने उहाँको भनाइ छ ।