३ हजारलाई छिट्टै शहिद घोषणा गर्ने, पार्टी नेतृत्वमा अझै मेरो विकल्प छैन: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार करिब ३ हजार जनालाई छिट्टै शहिद घोषणा गर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा शहिद प्रतिष्ठान नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई पनि छिट्टै शहिद घोषणा गर्नका लागि मन्त्रिपरिषद बैठकबाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई शहिद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिनुभयो । आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको पनि बताउनुभएको छ ।
जनयुद्धमा शहिदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको उहाँको भनाइ छ । माओवादी जनयुद्धमा बेपक्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न आफूले सक्दो पहल गरिरहेको समेत प्रधानमन्त्री दाहालले बताउनुभयो ।
सोही कार्यक्रममा उहाँले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको समेत बताउनुभएको हो ।पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको उहाँको तर्क छ । पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिनुभयो ।
समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन समेत उहाँले आह्वान गर्नुभएको छ।