बिआरआईबाट नेपालले प्रशस्त लाभ लिन सक्छ: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिट्टो भन्दा छिट्टो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा महासचिव पोखरेलले बिआरआइका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरुपछि परेको उहाँले बताउनुभएको हो ।
परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । नेपाल र चीनकाबीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको उहाँले बताउनुभएको छ । विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको उहाँले दावी गर्नुभयो ।
बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै उहाँले ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताउनु भएको हो । कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
नेपाल र चीनबीचको भूगोललाई चुनौती नभइ अवसरका रुपमा लिएर अघि बढ्न तथा सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षीय सम्बन्धलाई फराकिलो बनाउने उहाँले बताउनुभएको छ । चिनियाँ प्रतिवद्धताका कार्यक्रमहरु छिट्टो कार्यान्वयन भएको आफूहरुले हेर्न चाहेको महासचिव पोखरेलको भनाइ थियो ।