शहिदका सपना पूरा गर्न साझा संकल्प आवश्यक छ: उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहिद दिवसको अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा शहिदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताउनुभएको छ ।
सोही कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले शहिदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैकाबीचमा साझा संकल्प चाहिएको उहाँले बताउनुभएको हो । जनताका चाहना बमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहिदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको उहाँले बताउनुभयो ।
समृद्धिको मूल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकारभित्र रहेर काम गरिरहेको उहाँको तर्क छ । नागरिकको आर्थिक, सामाजिक, साँस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा प्रतिवद्ध रहेको उहाँले बताउनुभयो।
महानगरवासीको मुहारमा खुशी र सुखका अनुभूति ल्याउन निरन्तर रुपमा प्रयासरत रहेको उहाँको दावी छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रुपमा नै सरकारहरुलाई नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने आजको उद्देश्य रहेको बताउनुभयो । यसबाट नै शहीदले देखेका सम्पूर्ण सपनाहरु पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा मंगलबार देशभर विविध कार्यक्रम गरेर शहिद दिवस मनाइरहेको छ।