इतिहासले सम्झिने गरी साहसिक र जनपक्षीय काम गरेको छु: प्रधानमन्त्री दाहाल
१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिने गरी साहसिक र जनपक्षीय कामहरु समेत अघि बढाएको बताउनुभएको छ ।
नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको वर्तमान सरकारले एक वर्ष र एक महिना पूरा गरिसकेको बताउनुभएको छ । आफूले गरेको नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारवाही र सुन काण्डको निष्पक्ष छानबिन जस्ता घटनाले राज्य शक्तिको दुरुपयोगमार्फत भएका अपराध कर्मको पर्दाफास गरेको उहाँले दावी गर्नुभयो ।
मिटरब्याज पीडितहरुको पक्षमा बनाइएका कानून, नागरिकता बिहीन नेपाली नागरिकका सन्तानहरुको लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका तथा अनौपचारिक स्वरोजगार क्षेत्रमा कार्यरत लाखौं श्रमजीविहरुका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था, राहदानी, सवारी चालक अनुमति पत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शैयाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तकको उपलब्धतादेखि मलको आपूर्तिसम्म सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका पहलकदमीका केही उदाहरण रहेको उहाँको भनाइ थियो ।
आफूले चालेका सुधारात्मक कदमहरुकै कारण अहिले अर्थतन्त्र संकटबाट लयमा फर्किरहेको प्रधानमन्त्री दाहालले दावी गर्नुभएको हो । नवीनतम प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनीय, जिम्मेवार, जवाफदेही बन्न सो नियमनको प्रणाली अवलम्वन गर्नुपर्ने उहाँले बताउनुभयो । पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको , केही नयाँ नीतिगत व्यवस्थाहरु नियन्त्रणका लागि नभइ नियमन र व्यवस्थापनका लागि भएको प्रधानमन्त्री दाहालले बताउनु भएको हो ।