आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको छु: मन्त्री शर्मा
१७ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ ।
नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले बताउनुभएको हो । आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिनका लागि आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरेको समेत उहाँले बताउनुभएको हो । समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको मन्त्री शर्माको भनाइ छ ।
आम सञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिएको समेत बताउनुभयो । सरकारी सञ्चारमाध्यम सरकारी सूचना प्रशारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको बताउदै सबै कार्यलाई जनताकोबीचमा लैजाने, जनताको आवाज, गुनासो र अपेक्षासम्मलाई राज्य समक्ष पु¥याउने माध्यम हुनुपर्ने दावी समेत उहाँले बताउनुभयो ।
नेपाल टेलिभिजनसहित सार्वजनिक पसारण क्षेत्रको पुनः संरचनाको तयारी भएको मन्त्री शर्माले बतानुभयो । नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधि सभाको विषयगत समितिमा छलफल भइरहेको उहाँको भनाइ छ ।
सूचना प्रविधिको विकास, आम दर्शकको बदलिंदो शैलीलाई ध्यान दिएर उपयुक्त र सुलभ प्रविधिको प्रयोगमा ध्यान दिन जरुरी रहेको मन्त्री शर्माले बताउनुभयो ।