सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रको विवाद उत्कर्षमा
१९ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) को विवाद उत्कर्षमा पुगेको छ ।
बहुमत सांसदले संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएपछि शुरु भएको विवाद उत्ष्कर्षमा पुगेको हो । माओवादीको केन्द्रीय नेतृत्वले भने संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन निर्देशन दिएको छ । तर प्रदेश कमिटीले केन्द्रको निर्देशनको अवज्ञा गरेको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मान बहादुर धामीलाई चयन गर्ने निर्णय सच्याउन निर्देशन दिएको छ । धनगढीमा बसेको पार्टी पदाधिकारीको बैठकले पार्टीको विधि विपरित र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल सच्याउन निर्देशन दिएको हो ।
अध्यक्ष हरिराम चौधरी र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलका नेता भट्टको जानकारी बिना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । प्रदेश सचिव जनक बहादुर बुढालले खगराज भट्टलाई तत्काल दलको नेताबाट हटाउनु पर्ने अवस्था नआएको बताउनुभयो ।
संसदीय दलका उपनेता अक्कलबहादुर रावल पार्टीका प्रदेश उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँकै अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेको थियो । खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका थिए ।
निर्णय गर्ने प्रदेश सभा सदस्यहरुले प्रदेश कमिटीले दिएको निर्देशनलाई सुझावका रुपमा मात्रै लिन सकिने बताएका छन् । केन्द्र र प्रदेशको निर्देशनलाई सुझावका रुपमा लिँदै पुरानो निर्णयमा भने फर्किन नसकिने उनीहरुको अडान रहेको छ ।
बहुमत प्रदेश सभा सदस्यबाट निर्वाचित दलका नेता धामीले आफू दलको नेता हुने कुरा केन्द्रलाई एक महिना अघि नै जानकारी गराइसकेको हुँदा यो निर्णयमा कुनै फेरबदल नहुने दावी गर्नुभयो ।