सरकारलाई ज्ञापनपत्र बुझाउने र समाधानपत्र पनि दिन्छौं: सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास आयोजनामा दवाव अभियान सञ्चालन गरेपछि सो आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने बताउनुभएको छ ।
मेलम्चीबाट विकास आयोजनाहरुमा दवाव अभियान सुरु गर्दै आइतबार उहाँले २१ वटा विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दवाव अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने बताउनुभएको हो । दवाव यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य, स्वतन्त्र विज्ञहरु पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने उहाँको भनाइ छ । ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम नगर्ने र समाधानपत्र दिने उहाँले बताउनुभयो ।
यसअघि धेरै नेता र सांसदले आयोजनाहरुको निरीक्षण गरेको र सरकारलाई ज्ञापनपत्र बुझाएको तर त्यसले आयोजना छिट्टो पूरा हुन कुनै भूमिका निर्वाह नगरेको उहाँको तर्क छ । विकास आयोजनाहरु तोकिएको लागत र समयमा पूरा हुनैपर्ने भन्दै के कारणले आयोजनाहरु पूरा हुन नसकेका हुन् त्यसको खोजी गरिने उहाँले बताउनुभयो।
मेलम्ची आयोजनाको दवाव अभियानमा रास्वपा सभापति लामिछानेको नेतृत्वको टोली आइतबार नै सिन्धुपाल्चोकतर्फ जाँदैछ । उनीहरु गाग्रीसहित मेलम्चीको मुहानतर्फ जाँदैछन् । सभापति लामिछानेले मेलम्चीमा अहिलेसम्म ६२ अर्ब रुपैयाँ खर्च गर्दा पनि अझै काठमाडाैंमा पानी आउने निश्चित नभएको समेत बताउनुभएको हो ।
२१ वटा आयोजनामा दवाव अभियान सञ्चालन गरेपछि देशका अन्य आयोजनाहरुमा पनि दवाव दिने उहाँले बताउनुभयो । जसका लागि आयोजना छान्न र दवाव अभियानका लागि तयार रहन सभापति लामिछानेले पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।
आफूहरुले अलपत्र परेका विकास आयोजनामा दवाव अभियान सञ्चालन गर्दा राजनीति र कुटनीतिक क्षेत्रको चासो देखिएको बताउदै उहाँले नेपाली जनता हिड्ने बाटो राम्रो हुनुपर्ने र एउटा बाटोका लागि एक युग पर्खिन नसकिंने समेत बताउनुभयो ।