पहिचानको नारा लिएर चुनावमा जाँदा पनि जनताले साथ नदिएको प्रधानमन्त्री दाहालको गुनासो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।
आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । २०७० सालको चुनावमा आफूहरु पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल नारा लिएर चुनावमा गएको भएपनि आदिवासी जनजातिकै साथ नपाएको भन्दै प्रधानमन्त्री दाहालले गुनासो समेत गर्नुभएको छ ।
उहाँले २०७० को निर्वाचन सकिए लगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजाति नै पहिचान विरोधीलाई मत दिएको बताएको उल्लेख गर्नुभएको छ । उहाँले यो दोष आदिवासी जनजातिको नभइ पहिचान र संघीयताको पक्षमा, समावेशी, समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम भएको बताउनुभयो । पहिचानवादी पार्टी एकतावद्ध नरहनु र जनतालाई विश्वास दिलाउन नसक्नु आफूहरुको कमजोरी रहेको समेत उहाँले बताउनुभयो ।
आदिवासी जनजातिको श्रम, सीपलाई संरक्षण, प्रवद्र्धन गरी राष्ट्रिय आयमा वृद्धि गर्ने, विशेष औद्योगिक कार्यक्रम तर्जुमा गर्ने, आदिवासी जनजातिको साँस्कृतिक सम्पदालाई युनेस्कोमा अभिलेखन गर्ने, आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रम सम्बन्धी महासन्धी १६९, संयुक्त राष्ट्र संघका घोषणापत्र लगायतका सन्धी र अभिसन्धीहरु पूर्ण रुपमा कार्यान्वयन गर्न काम गरिरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।