राप्रपाका मागलाई उपेक्षा गरे विद्रोहमा परिणत हुने अध्यक्ष लिङ्देनको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिनुभएको छ ।
सिंहदरबारमा पुगेर बुधबार ४० बुँदे ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउँदै जनदवावका कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले औपचारिक रुपमा जनदवावका कार्यक्रम सुरु गरेको बताउनुभयो ।
ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको उहाँले बताउनुभयो । देश धेरै नै बिग्रिसकेको बताउँदै उहाँले अब यहि अवस्थामा रहिरहन नसक्ने दावी गर्नुभएको छ ।देशलाई नविन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको अध्यक्ष लिङ्देनले बताउनुभयो । सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको उहाँको भनाइ थियो ।
अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसम भावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरुको माग रहेको उहाँले बताउनुभएको हो । धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौती गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने पनि उहाँले बताउनुभयो । बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिएको समेत उहाँले बताउनुभएको छ ।
राप्रपाका मागप्रति प्रधानमन्त्री दाहाल सकारात्मक रहेको उहाँले बताउनुभयो । ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण, वाइडबडी लगायतका भ्रष्टाचार प्रकरणमा पुनः र पूर्ण छानबिन गर्न माग गरेको अध्यक्ष लिङ्देनले बताउनुभएको छ ।