सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न कानूनमन्त्री गुरुङको जोड
काठमाडौं । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले नेपालमा भष्ट्रचारको अन्त्यका लागि वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
पाल्पामा प्रथम तानसेन महोत्सवको आइतबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालबाट भष्ट्राचार उन्मूलनका लागि जनप्रतिनिधिमा वडादेखि माथि सबै जनप्रतिनिधि र कर्मचारीहरुमा अधिकृतदेखि माथिका सबै कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने कानून ल्याउने तयारीमा लागेको उहाँले बताउनुभयो ।
कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित तानसेन नगरपालिकाले प्रथम तानसेन महोत्सव शुरु गरेको छ । महोत्सवले कृषि, पर्यटन, लघु तथा साना उद्यमी प्रोत्साहन गर्नुका साथै युवाहरुलाई वृत्ति विकास, रोजगार सम्बन्धी मार्ग निर्देशन, स्वरोजगार बनाउने प्रकृतिका प्रदर्शीनी र अवसरहरु प्रदान गरेको हो।
सोही कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महोत्सवको बारेमा जानकारी दिंदै, तानसेनको विकास निर्माणका लागि महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उप–प्रमुख प्रतीक्षा गाहा सिंजालीले महोत्सवबाट तानसेनको कृषि, पर्यटनलाई फाइदा पुग्ने गरी कार्यक्रमको आयोजना गरिएको बताउनुभएको छ ।
त्यस्तै, नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले महोत्सवबाट संकलन भएको ६१ लाख राजश्व नगर विकासमा खर्च गरिने बताउनुभयो । तानसेन नगरपालिकाले टेण्डर मार्फत बढाबढमा ६१ लाख रुपैयाँ राजधानी राइडस नेपाललाई महोत्सव संचालन गर्न जिम्मेवारी दिएको छ । तानसेन महोत्सवमा ३ सय वटा स्टल रहेका हुन । ३ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ।
यहि फागुन २९ गतेसम्म संचालन व्यापार मेलामा १० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको हो ।