प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र सभापति लामिछाने टिआरसी विधेयक टुंगो लगाउन तयार, कानून समिति बैठक आज बस्दै
२१ फागुन, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) को बारेमा छलफल गर्न सोमबार बिहान कानून समितिको बैठक बस्ने भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक सोमबार बिहान पौने ८ बजे बस्ने भएको हो । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच टिआरसी विधेयकको बारेमा छलफल भएको थियो ।
त्यसपछि लगत्तै टिआरसी विधेयकको बारेमा छलफल गर्नका लागि कानून समितिको बैठक बोलाइएको हो। अध्यक्ष ओली र सभापति लामिछाने टिआरसी विधेयकको विषयमा लचिलो देखिएका छन्। यसअघि एमालेले टिआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो।
पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिंदै आएको हो। हाल उक्त विधेयक संसदको कानून समितिमा रहेको छ। आइतबार बसेको समितिको बैठकमा टिआरसी विधेयका विषयमा छलफल भएको थियो। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक टुंग्याउन थप समय माग गर्नुभएको थियो ।
कानूनमन्त्री गुरुङले विधेयकमा अधिकांश विषयमा सहमति भइसकेको भए पनि केही कुरा स्पष्ट हुन जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई पीडितले न्याय पाउने गरी आपसमा सहमति गरेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विधेयक बनाउनु पर्नेमा जोड दिनुभएको थियो।