वामपन्थी आन्दोलनलाई अगाडि बढाउन नयाँ गठबन्धन गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकमा नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय भएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गरेको हो । बैठकपछि सोमबार संचारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले देशको वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउँदै ध्रुवीकरणको दिशामा लैजानका लागि नयाँ गठबन्धन गर्न लागिएको बताउनुभयो ।
शान्ति प्रक्रियालाई टुंग्याउने र बजेट, नीति तथा कार्यक्रम मार्फत सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनु परेको उहाँको भनाइ छ । सचिव पौडेलले अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अपेक्षा गरे अनुरुप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, नेपाली कांग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि कांग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको उहाँको भनाइ छ । नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई भने नसमेट्ने स्पष्ट पार्नुभयो ।
गठबन्धनमा राप्रपालाई ल्याउनु प्रतिगमनकारी हुने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने उहाँले जानकारी दिनुभयो।माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई भने गठबन्धनमा ल्याउन प्रयास भइरहेको उहाँले बताउनुभयो ।