४ राजनीतिक दलका शीर्ष नेताबीच ८ बुँदे सहमति (सहमति पत्रसहित)
२२ फागुन, काठमाडौं । ४ राजनीतिक दलकाका शीर्ष नेताहरुबीच सोमबार नयाँ समीकरण बनेको छ ।
योसँगै सोमबार राति उनीहरुले ८ बुँदे सहमति समेत गरेका हुन् । सोमबार राति प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा भएको सोही सहमतिमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुले हस्ताक्षर गरेका छन् ।
४ राजनीतिक दलबीच भएको ८ बुँदे सहमति तल उल्लेख गरिएको छ:
१.) राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूकाबीचमा सहकार्य आवश्यक रहेको महशुस गरी एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने ।
२.) रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार र उपाध्यक्षमा एमालेका उम्मेद्वारलाई समर्थन गर्ने ।
३.) सरकारमा सहभागी भएका दलहरूकाबीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने । त्यसरी बाँडफाँड गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने ।
४.) संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने ।
५.) संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ।
६.) सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूकाबीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने ।
७.) यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद पुनर्गठन गरी सहमति अनुसार नयाँ संयुक्त सरकार गठन गर्ने ।
८.) हामी ४ राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक र सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं ।