जस्तोसुकै परिवर्तन भए पनि मिसन-२०८४ छोड्दैनौं: अध्यक्ष ओली
२२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ लाई नछोड्ने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गए पनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने बताउनुभएको हो ।
यथास्थितिवादी शक्ति, प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, सम्बद्र्धन, सुशासन र विकास आदिको पक्षमा काम गर्नका लागि मिसन-२०८४ अभियान सञ्चालनमा ल्याउनु परेको उहाँले जिकिर गर्नुभयो । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिशन–२०८४ बनेको उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सहि नभएको दावी गर्नुभयो । विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने उहाँको भनाइ छ ।
मजदुरहरुको न्यूनतम ज्याला पाउने कुरा समेत कानूनमा व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभएको हो । व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको उहाँले बताउनुभयो ।
शहिदहरुका अधुरा सपना पूरा गर्नका लागि आफूहरुले समृद्ध नेपाल र सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई अघि बढाएको अध्यक्ष ओलीले बताउनुभएको छ ।