कानून निर्माण र संविधान कार्यान्वयनमा महत्वपूण भूमिका खेल्ने राष्ट्रिय सभाका सांसदको प्रतिवद्धता
२२ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
सोमबार राष्ट्रिय सभा सांसदको रुपमा शपथ ग्रहण गरेसँगै नवनिर्वाचित सांसदहरुले संविधानको पूर्ण रुपमा कार्यान्वयन गराउन आफूहरुको भूमिका हुने बताएका हुन् । उनीहरुले संघीयताको कार्यान्वयन, शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र स्थानीय तह र प्रदेश सरकारको समस्या समाधानका लागि पनि आफूहरुको भूमिका हुने बताएका छन् ।
राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद सिटौलाले कानूनहरु नबनेका कारण संघीयता र संविधान कार्यान्वयनको सन्दर्भमा गुनासो आएको भन्दै आफ्नो ध्यान यसैमा बढी केन्द्रित हुने बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले पनि राष्ट्र र जनताको पक्षमा विधि, विधान बनाउन भूमिका खेल्ने बताउनुभयो । राष्ट्रिय सभा सांसदको रुपमा दुई वटै सदन र सरकारसँग समन्वय गरेर काम गर्ने उहाँको भनाइ छ ।
त्यस्तै, राष्ट्रिय सभा सांसद मनरुपा शर्माले राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमुलक र गरिमामय बनाउन आफ्नो भूमिका हुने बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु टुंग्याउनका लागि आफूले भूमिका खेल्ने उहाँको तर्क छ ।
त्यस्तै, राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले प्रदेश र स्थानीय तहको समस्या समाधानका लागि आफ्नो भूमिका हुने बताउनुभयो । ३ तहको सरकारलाई व्यवस्थापनका लागि नीति, निर्माणको तहबाट भूमिका खेल्नुपर्नेमा आफ्नो जोड हुने उहाँको तर्क छ ।
संविधानलाई व्यवस्थित बनाउनुपर्ने पनि अवस्था रहेको बताउदै उहाँले आफ्नो ध्यान त्यता नि रहने बताउनुभयो ।