एमालेलाई वाम एकता गर्ने कुनै हतार छैन: उपमहासचिव ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार मात्रै नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको शुरुवातको रुपमा चित्रण गर्नुभएको हो । सोही समयमा उपमहासचिव ज्ञवालीले वाम एकता गर्ने कुरामा हतार गरिहाल्ने अवस्था नरहेको बताउनुभएको छ । संचारकर्मीसँग बिहीबार कुरा गर्दै उहाँले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त समेत प्रस्तुत गर्नुभयो ।
अहिले वामपन्थी एकता, सहकार्य र पार्टी एकता लगायतका विषयमा कुनै पनि छलफल नभएको उहाँको भनाइ छ । उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, -‘अहिले त हामी यो संसदभित्रबाट राजनीतिक स्थायीत्व दिने कुरामा केन्द्रित छौं । त्यहाँ चाहे नेकपा माओवादी केन्द्रसँग होस, नेकपा एससँगको कुरा होस् । किनभने हिजो हामीले चाहे गरेको एकता बडो सदासहायतापूर्वक गरेका थियौं । अत्यन्त उत्साहित पनि थियौ । तर टिकेन । त्यसो भएको हुनाले विगतका पाठहरुलाई हेर्दै तल उपयुक्त वातावरण नबनिकन, कार्यकर्ता तहमै त्यसले भावनात्मक रुपमा एकता नभईकन माथिको जोडघटाउबाट बनेको एकता चाहीं टिक्दो रहेनछ भन्ने कुरा यहाँनिर देखिएको छ । त्यसले गर्दाखेरी अहिले हामी त्यसमा हतारिदैनौं । सरकार बलियो बनाउ, सरकार टिकाउ, सरकारबाट डेलिभरी दिउ । दलहरुकाबीचमा केही नीतिगत भिन्नताहरु छन् । केही भावनात्मक भिन्नताहरु छन् केही शैलिगत भिन्नताहरु छन् । त्यसमा स्वस्थ बहस चलाउँदै जाउँ ।’
एमालेले बामपन्थी र लोकतान्त्रिक २ राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको पनि उपमहासचिव ज्ञवालीले बताउनुभयो ।