माधव नेपाल, केपी शर्मा ओली, पुष्पकमल दाहाल ’प्रचण्ड १५ – १५ महिना प्रधानमन्त्री बन्ने
काठमाडौँ । अबको बाँकी समय तीन नेताबिच १५ महिनाका दरले प्रधानमन्त्री बन्ने सहमति भएको हो
सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो ।चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो । तर एक सातापछि एक दल थपिएर मंगलबार एक बुँदा घटाउँदै दलहरूबिच भएको सात बुँदेमा उपाध्यक्ष पदबारे केही उल्लेख गरिएको छैन ।
एकातिर सत्ता साझेदार दलमा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी थपिनु र यसअघि भएको उपाध्यक्ष
पदबारेको बुँदाप्रति केही नखुलाइनुले एमालेबाट उपाध्यक्ष पद एकीकृत समाजवादीतर्फ सरेको बुझिने नेताहरूको भनाइ छ ।
पाँच दलले गरेको सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’,
जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।
यसअघि अध्यक्ष माधवकुमार नेपालले फेरिएको सत्ता समीकरणलाई समर्थन गर्नुपर्दा पावर सेयरिङमा आफू एक वर्ष प्रधानमन्त्री र कुनै प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दै आएका थिए । नेता नेपाललाई मनाउन नसकिए वर्तमान सत्ता गठबन्धन नै धरापमा पर्ने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले नेता नेपाललाई प्रधानमन्त्री बनाउन मौखिक रूपमा ग्रिन सिग्नल दिएकै कारण सात बुँदे सहमति बनेको नेताहरूको भनाइ छ ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबिच बालुवाटारमा भएको छलफलमा प्रचण्ड र ओली नेपाललाई प्रधानमन्त्री बनाउन लचक बन्दै ‘ग्रिन सिग्नल’ दिएका हुन् ।
अबको बाँकी समय तीन नेताबिच १५ महिनाका दरले प्रधानमन्त्री बन्ने सहमति भएको हो’, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले सत्ता साझेदार दलको विश्वास जित्न उच्चस्तरको सहमति कायम गर्न तयार भएको बताए । उनले माधव नेपाललाई १५ महिना प्रधानमन्त्री दिन प्रचण्ड र ओली नै तयार भएको संकेत गर्दै उनले भने, ‘एमाले सहयात्री दलहरूको विश्वास जित्दै अगाडि बढ्न तयार छ ।