(डीएसपी) महतोलाई पदबाट निलम्बन गरेर हिरासतभित्र राखेर अनुसन्धान गर्नुपर्ने माग
रौतहटको गरुडा नगरपालिकामा विगत ६ दिनदेखि दलित समुदाय आन्दोलित छन् । हत्या आरोपमा प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका विजय महराको हिरासतमा मृत्यु भएपछि विवाद बल्झिएको छ ।
स्थानीय निरञ्जन रामको हत्या भएपछि प्रहरीले अनुसन्धानका लागि बसबिट्टी जिंगडिया बस्ने विजय महरालाई पक्राउ गरेको थियो । हिरासतमा कुटपिटपछि अस्पतालमा उपचारका क्रममा विजयको मृत्यु भएको दाबी गर्दै आन्दोलनकारीले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई पदबाट निलम्बन गरेर हिरासतभित्र राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । सडक आन्दोलन चर्काे छ ।
जनस्तरको आन्दोलनमा मात्रै होइन, २ नम्बर प्रदेश मुख्य न्यायाधीशक्ताको कार्यालय धुनषाले समेत घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी विश्वसनिक छानबिन प्रक्रिया अगाडि बढाएर कारवाही गर्न सिफारिस गरेको छ । मुख्य न्यायाधीवक्ताको कार्यालयले प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पत्र लेख्दै कारवाहीको सिफारिस गरेको छ । ‘मृतकको शव परीक्षणमा संलग्न चिकित्सकहरूको प्रारम्भिक भनाई अनुसार मृतकको हात तथा पिठ्यूँमा चोटको निशान देखिएको छ भन्ने जानकारी प्राप्त भएको छ,’ पत्रमा उल्लेख छ ।
आन्दोलनको नेतृत्व गरिरहेका दलित संयुक्त संघर्ष समितिका अध्यक्ष सोनेलाल रामले निरञ्जन रामका वास्तविक हत्यारा तथा हत्याका योजनाकारलाई डीएसपी महतोले बचाएको, निर्दोष युवा विजय महरालाई फसाएको र बल प्रयोग गरेर चरम यातना दिएर जबरजस्ती बयान कागज गराएको आरोप लगाए । ‘डीएसपी महतोको गतिविधि शंकास्पद देखिन्छ, सत्यतथ्य छानबिन गरेर कारवाही हुनुपर्छ । केही प्रमाण हामीसँग छन्, हामी दिन्छौं,’ उनले भने ।
प्रहरीले अपराधीलाई बचाउन निर्दोष दलित युवा विजय महरासहित ११ जनालाई हत्या आरोपमा पक्राउ गरिएको भनेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको उनले दाबी गरे । ‘पक्राउ गरिएका विजय महरालाई उनको परिवारसँग पनि भेट गर्न दिइरहेको थिएन, न त हामीहरूलाई नै भेट गर्न दिएको थियो । अचानक उनी सिकिस्त बिरामी भएपछि उनलाई उपचार गर्नको लागि नेसनल मेडिकल कलेज वीरगञ्ज अस्पतालमा भर्ना गरिएको थियो,’ उनले भने । उनी भर्ना भएको थाहा पाएपछि दलित अधिकारकर्मी मनोज रामले विजय महरासँग गरेको कुराकानीको भिडियो सार्वजनिक गरेका थिए । बोल्न समेत निकै अप्ठ्यारो भइरहेका विजय महराले आफूलाई जबरजस्ती फसाएको तथा चरम यातना दिएर बयान गराएको भिडियोमा बताएका छन् ।
‘३ जना प्रहरी सादा पोशाकमा आएर शुरूमा बांसको भाटाले र पछि फलामको पाइपले खुब कुटपिट गरे, करेन्ट समेत लगाए,’ महराले भिडियोमा भनेका छन्, ‘आरोप स्वीकार नगरे ज्यानले नै मारिदिन्छु भनेर धम्की समेत दिएका कारण आफूले प्रहरीमा बयान स्वीकार गरे पनि अदालतमा अस्वीकार गर्ने तथा यातना दिएकोबारे समेत बताउने छु ।’ महराको शरीरमा चोटपटक तथा यातनाको निलडाम समेत देखिएको फोटोसहित भिडियो सामाजिक सञ्जालमा राखिएपछि भाइरल भएको थियो । अस्पतालमा भर्ना गरिएको भोलिपल्ट नै उपचारका क्रममा महराको मृत्यु भएको थियो ।
महराको मृत्युपछि सयौंको संख्यामा दलित समुदाय आक्रोशित हुँदै इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए । मृतक परिवारलाई क्षतिपूर्तिसहित हत्याका वास्तविक योजनाकारलाई पक्राउ गरेर कारबाही गरिनुपर्ने माग रहेको संघर्ष समितिका संयोजक सोनेलाल रामले बताए । आन्दोलन शान्तिपूर्ण नै रहेको तथा रिले अनसन, प्लेकार्डसहित जुलुस प्रदर्शन गरिएकोमा अब धर्ना समेत बस्ने उनले बताए ।
डीएसपी महतोलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयमा काज फिर्ता बोलाइएको प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरजप्रताप शाहले बताए । निरञ्जन रामको हत्या अभियोगमा ११ जना पक्राउ गरेर ७ जनालाई ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाउने क्रममा विजय महराको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
‘प्रहरीले उनलाई हिरासतमा राखेर यातना दिएको छैन, संविधान र कानूनले पनि त्यो अधिकार नेपाल प्रहरीलाई दिएको छैन,’ डीआईजी शाहले भने, ‘विजय महरालाई पक्राउ गर्ने अवस्थामा नै चोटपटक लागेको थियो ।’
भदौ १ गते थुनुवाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख छ, थुनुवाको शारीरिक तथा मानसिक अवस्था ठीक छ, निलडामहरू रहेको, नयाँ घाउ चोटपटक रहेको, पुरानो घाउ खत नरहेको, चीनी (सुगर) नरहेको, अन्य कुनै मादक पदार्थ, नसालु पदार्थ सेवन नगरेको, भाग्ने क्रममा चोटपटक लागेको, तापक्रम ९८ डिग्री फरेनहाइट रहेको ।’ प्रतिवेदनमा प्रहरी सहायक निरीक्षक सतेन्द्रप्रसाद यादव र अस्पतालका चिकित्सकको संयुक्त हस्ताक्षर छ ।
घटनामा डीएसपी महतोको कुनै संलग्नता वा निर्देशन नरहेको भन्दै डीआईजी शाहले भने, ‘यदि सोधपुछ र अनुसन्धानको क्रममा कुनै प्रहरी कर्मचारीले यातना दिएको भन्ने कुरा छानबिन समितिको छानबिनमा देखियो भने कारवाही हुन्छ ।’ गृह मन्त्रालयले रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र अर्यालको संयोजकत्वमा प्रहरी उपरीक्षक जयराय सापकोटा सहितको छानबिन समिति गठन गरेको छ । छानबिन समितिले दिने प्रतिवेदन अनुसारको कारबाही हुने उनले बताए ।
मृतक महराको परिवारलाई क्षतिपूर्ति राहत स्वरूप प्रदेश सरकारले ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले विज्ञप्ति जारी गरेर जनाएका छन् ।