फेवामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
पोखरा । कोरोना संक्रमणको जोखिम र लामो समयसम्म गरिएको लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवा तालमा डुंगा सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरुको चहलपहल पनि बढेको छ । गत असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुआती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढ्दै गएको हो ।
सञ्चालनको सुरुआती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देखिने फेवातालमा अहिले दैनिक २ सयभन्दा बढी पर्यटकहरु घुम्न आउने गरेका छन् । विगतभन्दा संख्यात्मक हिसाबले कम भएपनि लकडाउनपछिको अवस्थामा आन्तरिक पर्यटन आउने क्रम बढ्दो छ । अहिले देशभरीका मठमन्दिर जस्तै फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पनि खुल्न सकेको छैन । यद्यपी डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने दैनिक रुपमा बढ्दो छ ।
विगतका वर्षहरुमा दैनिक ८ सयभन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न आउने फेवातालमा अहिले करिब २ सयको हाराहारीमा मात्र आन्तरिक पर्यटन आउने गरेका छन् । अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा संचालनमा रहेका छन् । विगतका वर्षहरुमा जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरुको पनि आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीको भनाइ छ ।
त्यस्तै फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगा चालकहरुले स्वाथ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गराइएको छ । डुंगा चालक र पर्यटकलाई साबुन पानीले हात धुन र मास्क लगाउन अनिवार्य गरिएको छ । तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ । प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानीटाइज गरेर पुनःप्रयोगमा ल्याइने गरिएको छ । डुंगामा भौतिक दूरी समेत कायम गर्ने गरिएको छ ।