सुस्तमनस्थितिकी एक बालिकामाथि बलात्कार
विराटनगर । मोरङको रतुवामाईमा सुस्तमनस्थितिकी एक बालिकामाथि बलात्कार भएको छ । बलात्कारमा संलग्न एक वृद्ध पक्राउ परेका छन् ।
रतुवामाई नगरपालिका–४ का ६६ वर्षीय फौदीलाल मुखियाले ८ वर्षीया बालिकामाथि बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार पीडित बालिकाका अभिभावकको किटानी जाहेरीका आधारमा मुखियालाई पक्राउ गरिएको छ । पक्राउ परेका मुखियाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आइतबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी राईले दिए ।
सुस्तमनस्थितिकीबालिका आफ्ना कुरा कसैलाई पनि बताउन सक्ने अवस्थामा छैनन् । उनी बोल्न सक्दिनन् । डीएसपी राईका अनुसार बालिका आफ्ना ६ र ५ वर्षीया बाहिनीसहित छिमेकी एक बालिकासँग घाँस काट्न मकैबारीमा गएकी थिइन् । घाँस काटिसकेर ती बालिका रुख चढेर खेलिरहेका थिए । ८ वर्षीया बालिका भने भुइँमै थिइन् ।
त्यही क्रममा बाँस काट्न भन्दै मकैबारी छेउमा रहेको बाँसघारीमा मुखिया पनि आइपुगेको प्रहरीले जनाएको छ। उनले भुइँमा रहेकी बालिकालाई त्यतिबेलै बाँसझ्याङभित्र जबरजस्ती लगेर बलात्कार गरेको बहिनीहरुले देखेको डीएसपी राईले बताए । घटना शुक्रबार दिउँसो ३ः१५ बजेतिरको हो ।
बहिनीहरुले साँझ घरमा पुगेर आमालाई सुनाएपछि सुस्तमनस्थितिकी बालिकामाथि भएको बलात्कार घटना बाहिर आएको हो । पीडित बालिकाकी आमाले पनि छोरीको यौनाङ्ग सुन्निएको देखेपछि प्रहरीलाई खवर गरेको बताइन् । यौनाङ्गमा चोट लागेकी बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य परीक्षण पनि कोसीमै भएको छ ।
बलात्कारको सिकार बनेपछि सुस्तमनस्थितिकी बालिकामा मानसिक समस्या थपिएको प्रहरीले जनाएको छ । कोही मान्छे देख्नेवित्तिकैरुने, तर्सिने र डराउने गरिरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका वृद्धले पनि घटनामा संलग्नता स्वीकार गरिसकेको जानकारी डीएसपी राईले दिए ।