काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा अवधि फेरि थप्ने तयारी
काठमाडौं । नेपालमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले सचेत गराइरहेका बेला महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा कप कडाइका साथ जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी भएको छ ।
यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ । तर स्थिति अझै भयावह नै रहेकाले यो अवधि लम्ब्याउनु पर्ने देखिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन् ।
‘त्यसका लागि हामी भोलि तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी) छलफलमा बस्दैछौं,’ पराजुलीले भने । जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए ।
गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ । शुरुमा एक हप्ता निषेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुई पटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन् । उपत्यकाका तीन जिल्लाले एकैसाथ र उही नियमका साथ निषेधाज्ञा घोषणा गर्ने गरेका छन् । अहिले लगभग देशैभर निषेधाज्ञा लागू छ । दुई जिल्ला मनाङ र खोटाङमा मात्रै निषेधाज्ञा हुन बाँकी छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक अवस्थामा बाहेक घरबाट निस्किन समेत पाइन्न । अटेर गरे जरिवाना तथा जेल सजायसम्म हुने कानुनी व्यवस्था छ ।
निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ७३० सवारी ‘होल्ड’
काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गरी चलाइएका ७३० सवारी ‘होल्ड’ गरिएको छ । जसमा ५६९ वटा दुई पाङग्रे, ११६ ओटा चारपाङ्ग्रे, एउटा ट्याक्सी र ४४ ओटा अन्य सवारी साधन छन्।
महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।