हनुमान जयन्ती सुरु हनुमानगढीमा
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको सो जयन्तीमा आज साँझ भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष जितेन्द्र सिंहले जानकारी दिनुभयो ।
उहाँले २८ घण्टा निरन्तर होम हुने उल्लेख गर्दै काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइज, सेराबस्ती, गोण्डालगायत क्षेत्रबाट भक्तजनको सहभागिता रहने बताउनुभयो । स्थानीय प्रतिष्ठित व्यक्तिको चन्दाबाट उठेको रकमबाट करिब २० हजारलाई भण्डारा (भोजन) को व्यवस्थापन गरिएको छ । यसमा करिब रु २८ लाख खर्च हुने अनुमान गरिएको छ । “जहाँ जहाँ श्रीरामको कथा प्रवचन, भजन कीर्तन हुन्छ त्यहाँ त्यहाँ कुनै न कुनै रूपमा हनुमानजी प्रकट हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
थानापति महन्त गिरीले जताततैबाट धर्ममाथि प्रहार भएकाले यसलाई बचाउन आवश्यक भएकामा जोड दिँदै धर्मप्रतिको आस्था र विश्वासलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । धार्मिक अभियन्ता अर्जुन धिमालले हनुमान जयन्तीमा शिवजीको लीला, श्रीराम लीला प्रस्तुत हुने उल्लेख गर्दै अयोध्यामा जस्तै स्टेज बनाएर रातभर जाग्राम भजन हुने बताउनुभयो । हनुमान जयन्तीको अन्तिम दिन रथ यात्रा, शोभायात्रा हुने र विशाल भण्डारा भएर समापन हुने बताइएको छ ।
थानापती महन्त उमेश गिरीले हनुमानगढीको पवित्र स्थानमा भौतिक पूर्वाधारको कुनै संरचना नभएको उल्लेख गर्दै ३० वर्षदेखि गुरुजीले चरण राखेर गौशालाका रूपमा विकास भएको र अहिलेको कलियुगमा जुनसुकै ठाउँमा पनि हनुमानजीको चमत्कार भएको बताउनुभयो । “विगतमा फोहोरको व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ भएको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर पछि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको पवित्र स्थानका रूपमा यसलाई लिइएको छ”, थानापति महन्त गिरी भन्नुहुन्छ ।
ऐतिहासिक माल्दा तलाउ भएको स्थानमा तीन फिटको हनुमान मन्दिर बनाउन लागिएको छ । धार्मिक पर्यटन प्रवर्द्र्धनका लागि नेपालगञ्जको बागेश्वरीमा तीन महिनादेखि आरती हुँदै आएको छ ।