July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

तुइन चुँडिदा कर्णाली नदीमा एकजना बेपत्ता, तुइन मुक्त घोषणाको आठ वर्ष पूरा

२०८० आश्विन २१, आईतवार १२:३५

160

काठमाडौंः तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुइन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका नेपाली बेपत्ता भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडाले जनाएको बराहदल गुल्म रानीवन ब्यारेक सिमकोटका गुल्मपति सेनानी दिनेश खड्काले बताए । कर्णाली करिडोरको ग्युसी -छारे खण्डको छारे भीरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार साँझ ६ बजे नेपाली तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको गुल्मपति सेनानी खड्काले जानकारी दिए ।

यसअघि २०७२ सालको असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो । तर तुइन मुक्त बनाउने घोषणा गरेको आठ वर्ष बितिसक्दा पनि नागरिकले तुइन चुँडेर मृत्युवरण गर्नुपरेको समाचार पढिरहनुपर्ने अवस्था रहेको छ । कहिले दोर्दी खोलामा फूलमाया गुरुङ,कहिले महाकाली नदीमा जयसिंह धामी त कहिले कर्णालीमा मक्कर सिंह नेपालीहरुले तुइन चुँडेर बेपत्ता हुनुपरेको खबर आईरहन्छ । गृह मन्त्रालयका अनुसार २८ वर्षयता तुइनबाट खसेर दार्चुलामा मात्रै २५ जनाको मृत्यु भइसकेको छ ।

चुनावी प्रचारबाजीका लागि तुइन मुक्त घोषणा गरेर जनतालाई झुठो आश्वासन बाँड्ने तर चुनाव जितेर सत्तामा पुगेपछि सिन्को नभाँच्ने राजनीतिक दलहरुका प्रवृत्तिको कारण पनि नेपालका दुर्गम र विकट क्षेत्रका जनताले सदियौँदेखि दुःख कष्ट झेलिरहेका छन् । तर,सरकार भने वास्तवमै तुइन मुक्त हुने गरि काम गर्नुको सट्टामा तुइन चुँडेर कोही बेपत्ता भएको खबर आउँदा दुःख व्यक्त मात्रै गरिरहेको छ ।