July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै

२०८१ बैशाख २९, शनिबार १४:४७

215

एक तिहाइभन्दा बढी अस्ट्रेलियालीलाई आफ्नो हालको आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) का शोधकर्ताहरूले अनुसन्धानपछि प्रकाशित गरेको पछिल्लो संस्करणको नतिजाले यस्तो देखाएको हो ।

एएनयुले सन् २००८ देखि अस्ट्रेलियालीको विचारमाथि अनुसन्धान गर्दै र पछ्याउँदै आएको छ । यसले गत जनवरीसम्म चार हजारभन्दा बढी उत्तरदातामध्ये ३४ दशमलव दुई प्रतिशतलाई आफ्नो हालको आम्दानीबाट गुजारा चलाउन गाह्रो वा धेरै गाह्रो भएको फेला पारेको छ ।

प्रतिवेदनका प्रमुख लेखक तथा एएनयुको स्कूल अफ पोलिटिक्स एन्ड इन्टरनेशनल रिलेसन्सका प्रमुख निकोलस बिडलले मिडिया विज्ञप्तिमा सन् २०२० फेब्रुअरीपछिको सर्वेक्षणले मापन गरेको वित्तीय तनावको उच्चतम दर भएको बताएका छन् । जनवरीको एएनयुपोलमा सहभागीहरूमध्ये ६२ प्रतिशतले आर्थिक दबाबको प्रतिक्रियामा किराना र आवश्यक वस्तुहरूमा कम खर्च गरिरहेका र ५० प्रतिशतले प्रमुख खरिदहरू स्थगित गरेको बताएका छन् ।

‘यो वित्तीय तनावलाई हेर्दा सम्भवतः मुलुकको दिशालाई लिएर सन्तुष्टिमा कमी आउनु आश्चर्यजनक होइन’, बिडलले भनेका छन्, ‘यो घटेर करिब ६२ प्रतिशत भएको छ, यो सन् २०२३ देखि करिब १० प्रतिशतले कम हो ।’

एकदेखि १० सम्मको स्केलमा आफ्नो जीवनसँग सन्तुष्टिको मूल्याङ्कन गर्न प्रश्न गर्दा उत्तरदाताहरूले ६ दशमलव ५५ को औसत जवाफ दिएका छन् । यो सन् २०१९, २०२० र २०२३ को औसत रेटिङभन्दा कम हो ।

बिडलले यो तथ्याङ्क कोभिड–१९ को महामारीका बेला ठूलो जनसङ्ख्या बन्दाबन्दीमा रहेको बेला गरिएको सर्वेक्षणको नतिजासँग बराबर भएको बताएका सिन्ह्वाले जनाएको छ ।

जनवरीको सर्वेक्षणले अस्ट्रेलियाको आवास बजारमा विशेष ध्यान केन्द्रित गरेको र भाडा वा ऋण भुक्तानीमा पछाडि परेका जनसङ्ख्याको अनुपात अप्रिल सन् २०१७ को दुई दशमलव दुई प्रतिशतबाट चार दशमलव आठ प्रतिशतमा दोब्बरभन्दा बढी भएको फेला पारेको थियो ।