July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सोती हत्याकाण्डः काठमाडौंमा दबाबमूलक प्रदर्शन, बहस अन्तिमतिर

२०८० मंसिर १८, सोमबार २२:२१

110

काठमाडौंः जात व्यवस्था उन्मूलन मोर्चा,नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको शान्तिवाटिकामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

२०७७ जेठ १० गते रुकुमपश्चिमको चौरजहारी -८ स्थित सोती गाउँमा नवराज विक सहित ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि जिल्ला अदालत रुकुमपश्चिममा निरन्तर सुनुवाई भईरहेको अवस्थामा न्यायको लागि दबाबस्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको मोर्चाका महासचिव रुपा सुनारले बताइन् ।

जात व्यवस्था उन्मूलन मोर्चाका महासचिव रुपा सुनारको संयोजनमा भएको उक्त कार्यक्रम मोर्चाका सचिव निर्जन विश्वकर्माले सञ्चालन गरेका थिए भने वक्ताहरुमा डाइलेक्टिकल सोसाईटीका पवन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका केन्द्रीय सदस्य शमसेर र दलित जागरण अभियानका संयोजक विकास विश्वकर्मा रहेका थिए ।

त्यस्तै विरोध प्रदर्शन कार्यक्रममा फूलमती र रोजन परियारले कविता वाचन गरेका थिए भने कार्यक्रममा उपस्थित भएकाहरुले ‘हत्यारा संरक्षक सरकार मुर्दावाद’, ‘न्याय मार्न पाइदैन’, ‘जात व्यवस्था मुर्दावाद’ लगायतका नाराबाजीहरुसमेत गरेका थिए ।

कार्यक्रममा आफ्ना मन्तव्य राखेका वक्ताहरुले रुकुमपश्चिममा भएको नरसंहार एउटा प्रतिनिधिमूलक घटना मात्र भएको र नेपाली समाजमा यस्ता घटनाहरु थुप्रै रहेकाले यसका कारक जात व्यवस्थालाई नै निर्णायक लडाइँ मार्फत अन्त्य गर्नुपर्ने बताएका थिए ।

काठमाडौंमा मात्र नभएर रुकुमपश्चिममै पनि पीडित परिवार र विभिन्न संघसंस्थाका दलित अधिकारकर्मीहरुले दबाब स्वरुप धर्ना कार्यक्रम गरिरहेको छ । साथै सोमबार अदालतमा बहस पनि अन्तिमतिर पुगेको अवस्था छ । सोमबार प्रतिवादीका तर्फबाट बहस भएको थियो । मंगलबार बाँकी र जवाफी बहस सक्ने अदालतलको तयारी रहेको छ । दोस्रो दिनको बहसमा आरोपितका तर्फबाट कानुन व्यवसायीले बचाउ बहस गरेका थिए । उनीहरुले अभियोजन एकमुष्टमा भएकाले सबैलाई सफाइ दिनुपर्ने माग गरेका थिए भने नियोजित हत्या नभई दुवै बीचमा भिडन्त भएर मृत्यु भएको दाबी उनीहरुले गरेका थिए ।

रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा अन्तिम फैसलाका लागि आइतबारदेखिसुरु भएको सुनुवाइमा आइतबार सरकारी वकिल र पीडितका तर्फबाट सुनुवाइ भएको थियो । जसमा दुई सरकारी वकिलसहित ९ जना वकिलले बहस गरेका थिए । आइतबार र सोमबार ६ बजेसम्म इजलासमा बहस गराइएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार दुई जना प्रतिवादीका कानुन व्यवसायी र जवाफी बहस बाँकी छ । उक्त बहस चियासत्र अघिसम्म सक्ने र सम्भव भएसम्म फैसला नै सुनाउने तयारी अदालतको रहेको उनले बताए ।

६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालत रुकुमपश्चिममा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग छ । उनीहरूमध्ये ११ जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।