July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

दलित भन्दै आश्रमबाट निकालिएको घटनामा अझै भएन जाहेरी दर्ता

२०८० मंसिर २४, आईतवार १३:१२

195

काठमाडौंः मोरङको विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएको आज ४ दिन भएको छ । तर, उजुरी परेको ४ दिन भईसक्दासमेत हालसम्म पनि प्रहरीले जाहेरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।

पीडित पक्षले कारबाहीका लागि निवेदन दिएको ४ दिन बितिसक्दासमेत कुनै प्रक्रिया अघि नबढेको गुनासो गरेपछि यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जन दाहालसँग सम्पर्क गर्दा पीडितको निवेदन प्राप्त भएको र निवेदन अनुसार आज मात्रै पीडित र पीडक दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गर्न लागिएको बताएका छन् । जाहेरी दर्ता गरी कारबाही प्रक्रिया सुरु गर्नुपर्नेमा सामान्य छलफल मात्रै गर्न खोज्दा स्वभाविक रुपमा प्रहरीको भूमिकाप्रति आशंका उब्जिन्छ यद्यपि उनले छलफल पश्चात पीडितको भावना अनुरुप नै प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएर अन्तिम समयमा दलित भन्दै बाहिर निकालेका कारण गत मङ्सिर २० मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनले जागृति आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाएकी छन् । २०८० मङ्सिर १४ गते उर्लाबारी नगरपालिका वडा नं। ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्रममा बस्न आएको तर दलितहरुलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट हटाइदिएको सुन्दासले निवेदनमा उल्लेख गरेकी छन् ।

नेपाल छुवाछुत मुक्त देश भइसक्दा समेत दलितमाथि हेला होचो गरेको हुँदा विपक्षीलाई झिकाइ कारबाही गरी पाउँ भनेर उनले उजुरी गरेकी हुन् । यस विषयमा जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका महासचिव रुपा सुनारले ‘५ दिन सम्म जाहेरी दर्ता नगर्नुको कारण के हो हामीलाई थाहा दिइयोस र तुरुन्तै जाहेरी दर्ता गरी अपराधीलाई कारबाही गरियोस्’ भन्दै सामाजिक संजालमा जात व्यवस्था विरोधीहरूले न्यायको निम्ति दबाब सृजना गर्न आह्वानसमेत गरेकी छन् ।