July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सेनाका अधिकृतहरूद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

२०८१ बैशाख १०, सोमबार २१:२२

230

नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सिलसिलेवार संख्या १२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।

अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलयसमेतको अवलोकन गरेका थिए ।

अवलोकनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाको निरूपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गरे ।

विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको चर्चा गर्दै उनले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठनबीच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आउँदा दिनमासमेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताए ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राई र नेपाली सेनाका सहायक रथी दिपेशजंग शाहले कृतज्ञताको चिनो आदान प्रदान गरेका थिए ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरीबीचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजनाका समस्या लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

तालिमरत अधिकृतहरूमा ३ जना महिला र ३२ जना पुरूष र ६ जना प्रशिक्षक अधिकृतको सहभागिताको रहेको थियो ।