नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेखतमिम बिन हमाद अल थानी र प्रधानमन्त्री प्रचण्डबीच आज भेटवार्ता हुँदैछ ।
कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल-कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।
दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिएका छन् ।
कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नुहुनेछ । कतारी विशिष्ट अतिथि आजै अपराह्न काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।
तस्बिर : रासस