July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

रेड नोटिस जारी भएका दुईजना युएईबाट पक्राउ

२०८१ जेष्ठ ४, शुक्रबार १४:००

105

ज्यान सम्बन्धी र विद्युतीय कारोवार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय बलबहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।

पक्राउ परेकामध्ये ज्यानसम्बन्धी मुद्दामा बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।

यसैगरी विद्युतीय कारोवार मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि साइबर ब्यूरोबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।

बलबहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।