July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सम्राट तिमल्सिनाको न्यायका लागि चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन

२०८० असार १४, बिहीबार २२:४३

130

काठमाडौंः रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन भएको छ । गत मंसिर ३ गते चन्द्रपुर नगरपालिका ४ का रमेश घिमिरेले चलाएको मोटरसाइकलको ठक्करबाट मृत्यु भएका १० बर्षीय बालक सम्राट तिमल्सिनाको न्यायका लागि भन्दै उक्त प्रदर्शन भएको हो ।

उक्त घटनाको मुचुल्का प्रहरीले ३ दिनपछि उठाएर सरकारलाई वादी बनाएर मुद्दा चलाएको थियो । घटनाको कसुरदार रमेश घिमिरेको सवारी चालक अनुमती पत्र र सवारी धनी प्रमाणपत्रसमेत नभएको व्यक्ति भएपनि ज्यानै मार्ने गरि भएको घटनामा समेत रौतहट जिल्ला अदालतद्वारा दुई हजार रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय गरि रिहाई गरेको भन्दै पीडित परिवार, विद्यार्थी र स्थानीयहरु समेतको सहभागीतामा विरोध जनाएको प्रदर्शनमा सहभागी क्षितिज लामिछानेले बताएका छन्। प्रहरीले मुचुल्का उठाउँदादेखि अदालतले फैसला गर्दासम्म पीडितले रत्तिभर न्याय महसुस गर्न नसकेको र अदालतले षड्यन्त्रपूर्वक फैसला गरेको भन्ने पीडित परिवारको आरोप रहेको उनको भनाइ छ । ।

मृतक बालककी आमाले गत असार ९ गते सामाजिक संजाल टिकटकमा भिडियो पोस्ट गर्दै रौतहट क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सांसद देवीप्रसाद तिमल्सिनाले आफ्नो पदीय मर्यादाको दुरुपयोग गर्दै सवारी चालक रमेश घिमिरेलाई बचाउन लागिपरेको आरोप लगाएका थिए । उनको भनाइ अनुसार सांसद देवीप्रसाद र कसुरदार रमेश घिमिरे नाताले मामा-भान्जा हुन् । रमेशको परिवारका सदस्यले समेत मामा सांसद भएको भन्दै अहम् व्यक्त गरेका थिए भन्ने उनको आरोप छ ।

मृतक र कसुरदार एउटै गाउँका भएपनि एकपटक पनि गल्ती स्वीकार्न नआएको, बरु उल्टै एक कठ्ठा जमिन बेचेर ६ महिनाभित्र रमेशलाई रिहाई गराई छाड्ने भन्दै पीडित परिवारलाई पीडा थप्ने काम गरेको मृतक बालककी आमाले बताइन् । अदालतमा बहस चल्दै गर्दासमेत रमेशको परिवारका सदस्यले हाँस्ने,खिज्याउने जस्ता असंवेदनशील र अमर्यादित गतिविधिसमेत गरेको पीडित परिवारको भनाइ छ ।

त्यसैक्रममा बिहीबार नारा-जुलुससहित निस्किएका प्रदर्शकारीहरूले चन्द्रनिगाहपुरको प्रहरी कार्यालयअगाडि धर्ना दिएका थिए । केहीबेरको धर्नापछि कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालासँग पीडित परिवारसहित केही प्रतिनिधिहरूले छलफल गरेका छन् । छलफलका क्रममा प्रहरी नायब उपरीक्षक कोइरालाले अप्रत्यक्ष रुपमै भएपनि अदालतबाट अन्यायपूर्ण फैसला भएको कुरा स्वीकार गरेको र आफूले न्याय दिलाउन सक्दो सहयोग गर्ने आश्वासन दिएपछि विरोध कार्यक्रम तत्काललाई स्थगित गरिएको आन्दोलका अर्का सहभागी आकाश बस्नेतले थाहा यात्रालाई बताए । आन्दोलन स्थगित भए पनि मृतकका परिवारले न्याय नपाएमा उच्च अदालतमा पुनरावेदनका लागि जाने बताइएको छ ।