July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

जुम्लामा अन्तरजातीय विवाह गर्दा घर आगजनी

२०८० असार १७, आईतवार १८:४१

205

काठमाडौंः अन्तरजातीय विवाह गरेको चार दिन पछि जुम्लाका मुकुन्द नेपालीको घरमा आगो आगजनी भएको छ । जुम्लाको तातोपानी गाउँपालिका गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग गएको साता भागी विवाह गरेका थिए ।

२० वर्षीय मुकुन्दले उमेर नखुलेकी युवती बसन्तीसँगको प्रेमपछि अन्तरजातीय विवाह गरेको स्थानीयहरूले बताएका छन् । केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन् । बसन्तीले मुकुन्दसँग भागेर घरजम गरेलगत्तै आफूहरू बाँके आएको कुरा आफन्तलाई फोनमा जानकारी गराएको बुझिएको छ।

यता जुम्लामा भने मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेको चार दिन पछि मुकुन्दको घरमा एक्कासी आगो लागेको मुकुन्दका माइला दाइ भरत नेपालीले बताएका छन् । ‘भाइले अन्तारजातीय बिहे गर्नु र त्यसको चार दिन पछि आगो लाग्नु संयोग नभएर योजना हो,’ उनले भने, ‘यो काम केटी पक्षका दाइले गराएको भनी प्रहरीमा किटानी जाहेरी दिने तयारी गरेका छौँ ।’

तीन तलाको घर जलेर पूरै नष्ट भएको हाँकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन् । ‘घर आगलागी भएको कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हौँ,’ उनले भने, ‘क्षतिको विवरण निकाल्दैछौँ । घटनाबारे थप अनुसन्धान भइरहेको छ’ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी प्रलात कार्कीले मुकुन्दको घरमा आगलागी गर्ने भागेकी केटीका दाई हिक्मत गिरीलाई पक्राउ गरिएको बताए । उनले भने, ‘हामीले घरमा आगजनी गर्ने केटीका दाइलाई पक्राउ गरेका छौँ। उनले प्रहरी समक्ष आफैँले आगो लगाएको स्वीकार गरेका छन् । उनी आफैँ हुन वा अरू साथीहरूसहित आगो लगाएका हुन भन्ने विषयमा थप अनुसन्धान गरिरहेका छौँ’।

यसरी जातीय भेदभाव तथा छुवाछुत मुक्त नेपाल घोषणा भएको दशकौं समय बित्दासमेत जातीय विभेदजन्य घटनाहरु सार्वजनिक भइरहँदा घोषणामा मात्रै मुक्त भएको तथ्यलाई उजागर गरेको छ । अहिलेको यस घटनालाई लिएर विभिन्न दलित संघसंस्थाहरु तथा अभियन्ताहरुले विरोध जनाइरहेका छन् ।