काठमाडौंः अन्तरजातीय विवाह गरेका कारण जुम्लाका मुकुन्द नेपालीको घरमा आगजनी भएको घटनाप्रति जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार अध्यक्ष डोलराज विश्वकर्मा र महासचिव रुपा सुनारले हस्ताक्षर गरेको एक प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहेका जोडीलाई अपराध ठान्ने र परिवारलाई नै नष्ट गर्ने उद्धेश्यले युवकको घरमा आगजनी गरेको घटनाप्रति खेद प्रकट गर्दै मोर्चाले पीडित परिवारलाई उचित क्षतिपूर्ति सहित अपराधीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । अन्यथा मोर्चाले पीडितको न्यायको निम्ति सबैखाले संघर्ष गर्न तयार रहेको भन्दै चेतावनी समेत दिइएको छ ।
त्यस्तै विज्ञप्तिमा मोर्चाले जात व्यवस्था जीवित रहेसम्म जातका आधारमा हुने विभेदको अन्त्य नहुने भन्दै जात व्यवस्था उन्मूलनको आन्दोलनमा सहभागी हुनसमेत आह्वान गरिएको छ ।
विज्ञप्तिः