July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

टेकुमा आन्दोलनकारीमाथि निर्मम प्रहरी दमन,पत्रकारलाई समाचार संकलनमा रोक

२०८० श्रावण १७, बुधबार १८:४१

105

काठमाडौंः नेपाल तामाङ घेदुङ,नेपाल मगर संघ,तामाङ कलाकार संघ लगायतका संघसंस्थाहरुले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी र आन्दोलनकारीहरुबीच झडप भएको छ । बुधबार जिल्ला प्रहरी परिसर टेकु अगाडि अधिवक्ता भगवती पाण्डेविरुद्ध जाहेरी दिँदासमेत पक्राउ नपरेको भन्दै आयोजना गरेको दबाबमुलक विरोध कार्यक्रममा उक्त झडप भएको हो ।

प्रदर्शनका क्रममा प्रहरीले सडक अवरुद्ध भएको भन्दै आन्दोलनकारीहरुमाथि लाठी प्रहार गरेर तितरबितर बनाउने प्रयास गरिएको थियो । प्रहरीले लाठी प्रहार गरेपछि आन्दोलनकारीहरु पनि आक्रोशित बनेका थिए । आक्रोशित आन्दोलनकारीहरुले पनि प्रहरीले दमन गरेको भन्दै ढुङ्गामुढा प्रहारमा उत्रेका थिए ।

जिल्ला प्रहरी परिसर टेकुका सुचना अधिकारीका अनुसार दोहोरो झडपका क्रममा प्रहरी तर्फ १६ जना सामान्य घाइते भएको जनाएको छ । त्यस्तै आन्दोलनकारी तर्फ ५० भन्दा बढी सामान्य घाइते भएको छ भने नेपाल तामाङ युवा घेदुङका अध्यक्ष विलाम मोक्तानको खुट्टामा र विद्यार्थी घेदुङका केन्द्रीय सदस्य नरेन्द्र तामाङको हात र खुट्टा दुवैमा गम्भीर चोट लागेको छ ।

झडप भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरि भीडलाई तितरबितर बनाएको थियो । तितरबितर भइसकेपछि प्रहरीले आन्दोलनकारीहरुलाई खोजीखोजी गिरफ्तार गरिएको थियो । कवि बच्चु हिमांशुलाई कविता वाचन गर्दागर्दै प्रहरीले धरपकड गरेको थियो । त्यस्तै आन्दोलनकारी कृति गोलेलाई पुरुष प्रहरीले नै खुट्टा उचालेर घिसार्दैघिसार्दै गिरफ्तार गरेको थियो । प्रहरी परिसर टेकुका सुचना अधिकारीका अनुसार अहिलेसम्म ४२ जना आन्दोलनकारीहरुलाई गिरफ्तार गरिएको छ ।

झडप साम्य भएपछि नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले एक प्रेस विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा प्रहरीले अनावश्यक बल प्रयोग गर्नु निन्दनीय भएको भन्दै पक्राउ परेका व्यक्तिहरुलाई बिना शर्त रिहाइ नगरिए देशव्यापी आन्दोलन चर्काउने चेतावनीसमेत दिइएको छ ।

केही समय अगाडि अधिवक्ता भगवती पाण्डेले एक टेलिभिजन कार्यक्रममा तामाङ,मगर,मुस्लिम लगायत अन्य आदिवासी समुदायलाई लिएर दिएको विवादास्पद अभिव्यक्तिकोे तीव्र विरोध भइरहेको छ । गत श्रावन ९ गते नै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले संयुक्त रुपमा जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको भन्दै दुवै संस्थाले आज जिल्ला प्रहरी परिसर घेराउ कार्यक्रमको आयोजना गरेको थियो । यद्यपि अहिले भने अधिवक्ता भगवती पाण्डे पक्राउ परिसकेकी छन् । आजै पक्राउ गरि अनुसन्धान सुरु भएको र बयान लिने काम भईरहेको जिल्ला प्रहरी परिसर टेकुका सुचना अधिकारीले थाहा यात्रालाई जानकारी दिएका छन् ।

पत्रकारलाई समाचार संकलनमा रोक
झडप भईसकेपछि प्रहरीले अश्रु ग्याँस र लाठी प्रहार गरि आन्दोलनकारीहरुलाई तितरबितर बनाइसकेको थियो । तितरबितर भईसकेपछि प्रहरीले आन्दोलनकारीहरुलाई खोजीखोजी गिरफ्तार गरिरहेको थियो, त्यसैक्रममा प्रहरीले माथिको आदेश भन्दै रिपोर्टिङमा खटिरहेका पत्रकारहरुलाईसमेत समाचार संकलनमा रोक लगाएको थियो ।

पत्रकारहरुलाई दृश्य कैद गर्न नदिएर प्रहरीले दुव्र्यवहार गरेको थियो । यत्तिमा मात्र सिमित नभएर पत्रकार सम्पदा लिम्बुलाई प्रहरीले जबरजस्ती गिरफ्तार गरेको थियो । त्यस पश्चात सबै पत्रकारहरुले क्यामेरा सडकमा राखेर प्रहरीको रवैयाविरुद्ध आवाज उठाए पछि उनलाई छाडिएको थियो ।