ललितपुर, असोज २५ – गोदावरी नगरपालिकाले हालै नेपाल प्रहरीलाई विपद् व्यवस्थापनका लागि आवश्यक १७ प्रकारका सामग्री तथा तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूको पुनः सञ्चालनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले यस्तो सहयोग गरेको हो।
यस अन्तर्गत, महानगरीय प्रहरी वृत्त चापागाउँ, प्रहरी प्रभाग लेले र प्रहरी प्रभाग बाँडेगाउँलाई सामग्री प्रदान गरिएको छ। ती प्रहरी कार्यालयहरू आन्दोलनका क्रममा पूर्ण रूपमा जलेर ध्वस्त भएका थिए।
नगर प्रमुख गजेन्द्र महर्जनले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको उपस्थितिमा ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीलाई सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
प्रदान गरिएका सामग्रीहरूमा लेडर ग्लोब्स, कटन ग्लोब्स, टर्चलाइट, फ्ल्यासलाइट, व्याकबोर्ड, डाइनामिक रेस्क्यु डोरी, साबेल, पिक, सेफ्टी भेस्ट, स्ट्रेचर, प्राथमिक उपचार बाकस, रेनकोट, लाइफ रिङ, थ्रो ब्याग, हेल्मेट र मेघाफोन माइकजस्ता उपकरणहरू समावेश छन्।
त्यसैगरी, गोदावरी नगरपालिकाले चापागाउँस्थित प्रहरी वृत्त पुनर्निर्माणका लागि नगद १० लाख रुपैयाँ सहयोग समेत उपलब्ध गराएको छ।
नगरप्रमुख महर्जनका अनुसार वडा नम्बर १, २, ३, ४ र १४ ले प्रहरी प्रभाग बाँडेगाउँको पुनर्निर्माणमा योगदान गरिरहेका छन् भने वडा नम्बर ५, ६, १० र ११ ले प्रहरी प्रभाग लेले तथा प्रहरी चौकी चापागाउँको पुनर्निर्माण कार्यमा हातेमालो गरिरहेका छन्।