नवलपुरमा पोथी गैँडा मृत अवस्थाम भेटियो

समाचार

नवलपुर, कात्तिक ९ गते । नवलपुरको देवचुली नगरपालिका–१७ स्थित आँपको बगैँचामा एक पोथी गैँडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार करिब ३० देखि ३२ वर्ष उमेरको उक्त गैँडा शिशवार उपभोक्ता समितिको कार्यक्षेत्रभित्र मृत अवस्थामा भेटिएको हो।

थापाका अनुसार गैँडा विगत ६–७ वर्षदेखि सो बगैँचामा बस्दै आएको र केही समयदेखि बिरामी रहेको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक टोलीले यसअघि पनि त्यसै गैँडाको उपचार गर्दै आएको बताइएको छ।

मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। साउन महिनादेखि अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडाको मृत्यु भइसकेको छ। गत आर्थिक वर्षमा २८ वटा गैँडाको मृत्यु भएको थियो भने पछिल्लो गणनाअनुसार निकुञ्जमा हाल ६९४ वटा गैँडा रहेका छन्।