हवाई यात्रा महँगियो : इन्धनको मूल्य बढेपछि बढ्यो हवाई भाडा, धनगढी रुटमा मात्रै ८८० रुपैयाँसम्म वृद्धि

बिजनेस

काठमाडौं । नेपालमा आन्तरिक हवाई यात्रा थप महँगिएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानका लागि लागू हुने इन्धन शुल्क (फ्युल सरचार्ज) समायोजन गर्दै न्यूनतम हवाई भाडादर बढाएको हो।

नेपाल आयल निगमले साउन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेको थियो। यससँगै हवाई इन्धनको मूल्य प्रतिलिटर २९० रुपैयाँ पुगेको छ। इन्धनको यही मूल्यवृद्धिको प्रभाव हवाई टिकटमा परेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले संशोधित फ्युल सरचार्जसहितको नयाँ भाडादर सबै आन्तरिक वायुसेवा कम्पनीलाई कार्यान्वयनका लागि जानकारी गराइसकेको छ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी प्रभाव परेको छ। यसअघि १० हजार १२० रुपैयाँ रहेको न्यूनतम भाडा बढेर ११ हजार रुपैयाँ पुगेको छ। अर्थात्, यो रुटमा यात्रा गर्ने यात्रुले अब ८८० रुपैयाँ बढी तिर्नुपर्ने भएको छ।

इन्धनको मूल्यवृद्धिसँगै अन्य आन्तरिक गन्तव्यहरूको हवाई भाडामा पनि दूरीअनुसार वृद्धि गरिएको प्राधिकरणले जनाएको छ। नयाँ भाडादर तत्काल लागू हुने भएकाले अबदेखि टिकट खरिद गर्ने यात्रुले संशोधित दरअनुसार रकम तिर्नुपर्नेछ।