देशको अँध्यारो हटाउन अब उज्यालो नेपाल पार्टीले नेतृत्व लिन्छ : कुलमान घिसिङ

राजनीति

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन्।

आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकमा अध्यक्ष घिसिङले युवाहरूको अनुभव, क्षमता र दक्षताका आधारमा उनीहरूलाई नयाँ तथा महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको जानकारी दिए। आगामी दिनमा देश निर्माणका लागि सक्रिय र जागरूक अन्य युवासँग पनि सहकार्य गर्न पार्टी तयार रहेको उनले बताए।

देशमा व्याप्त विभिन्न क्षेत्रका समस्या र विकृति हटाउँदै विकास तथा समृद्धिको नयाँ आधार निर्माण गर्न अब उज्यालो नेपाल पार्टीले नेतृत्व लिने घिसिङको दाबी छ।

‘देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ,’ घिसिङले भने, ‘त्यसका लागि उज्यालो नेपाल पार्टी विकल्पका रूपमा अघि बढेको छ।’

घिसिङले विद्युत् तथा ऊर्जा क्षेत्रमा सरकारले अवलम्बन गरिरहेको नीतिमाथि पनि प्रश्न उठाए। विद्युत्को खपत बढाउने वातावरण निर्माण गर्नुपर्नेमा बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्य कर लगाउने, विद्युतीय सवारीसाधनमा कर बढाउने र खाना पकाउने ग्यासमा निर्भरता कायम राख्ने नीतिले देशको आर्थिक विकासमा अपेक्षित योगदान पुर्‍याउन नसक्ने उनको भनाइ छ।

विद्युत् उत्पादन र खपत बढाएर विद्युतीय ऊर्जाको प्रयोग विस्तार गर्नुपर्नेमा उल्टो नीति अवलम्बन गरिएको भन्दै उनले सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका हुन्।

उज्यालो नेपाल पार्टी कुनै निश्चित राजनीतिक वादभन्दा जनतालाई प्रत्यक्ष परिणाम र सेवा प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढिरहेको घिसिङले बताए।

उनका अनुसार देश विकासका लागि युवाको ऊर्जा, अनुभवी व्यक्तिको ज्ञान तथा विभिन्न क्षेत्रका विज्ञताको संयोजन आवश्यक छ। यही आधारमा पार्टीले आगामी दिनमा संगठन विस्तारसँगै देश निर्माणमा योगदान गर्न चाहने युवाहरूलाई समेट्दै अघि बढ्ने तयारी गरेको छ।